जनप्रिय बहुमुखी क्याम्पसमा स्नातक तहमा पर्वतीय पर्यटन विषयमा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत र चौथो वर्ष सकिएका विद्यार्थीलाई बिदाइ गरिएको छ ।

जनप्रियले सञ्चालन गरेको ब्याचलर इन माउन्टेन टुरिज्म (बिएमटिएम) त्रिभुवन विश्वविद्यालयको स्वायत्त कार्यक्रम हो । आइतबार भएको स्वागत तथा बिदाइ कार्यक्रममा क्याम्पस सञ्चालक समिति अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छेले आधुनिक युगमा युगसापेक्ष र आवश्यकता अनुसारको शिक्षा जरुरी हुने बताए । उनले पर्यटकीय सहर पोखरामा पर्यटनसम्बन्धी उच्च शिक्षाको व्यवस्था जनप्रियमा हुँदा विभिन्न क्षेत्र यसबाट लाभान्वित भएको उनको भनाइ छ ।

क्याम्पस प्रमुख लोकराज भण्डारीले संसारकै सबैभन्दा ठूलो उद्योग पर्यटनमा विश्वभर नै गुणात्मक परिवर्तन आइरहेको बताए । उनले भने, ‘अबको पर्यटन ज्ञानमा आधारित हुनुपर्छ । जसका लागि दक्ष जनशक्ति उत्पादनमा जनप्रियले योगदान गरिरहेको छ ।’ नेपाल पर्यटन बोर्डका कुन्दन मिश्रले जनप्रियबाट सैद्धान्तिक ज्ञान पाएका विद्यार्थीलाई व्यवहारिक ज्ञान दिन इन्टर्नसिपका लागि बोर्ड तयार रहेको जनाए ।

जनप्रियका फ्याकल्टी डा श्रीकान्त खतिवडाले कार्यक्रममा बिएमटिएम कार्यक्रमको आवश्यकता र सम्भावनाबारे प्रकाश पारे । उनले परिवर्तित अवस्था अनुसार पर्यटन उद्योग चल्नुपर्नेमा जोड दिए । उनले भने, ‘बा, हजुरबाले गरेको तरिकाले अब पर्यटन क्षेत्रमा काम गर्न सकिँदैन । दक्ष जनशक्ति, उचित पूर्वाधार, प्रविधिको प्रयोग जस्ता अनेक पक्षमा ध्यान दिन जरुरी छ ।

विद्यार्थीले विविध सांस्कृतिक प्रस्तुति राखेको सो कार्यक्रममा खेलकुद सप्ताहका विजेताहरुलाई पुरस्कार वितरणसमेत गरिएको छ । कार्यक्रम विद्यार्थी सलिना खड्काको अध्यक्षतामा भएको थियो ।