गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री माननीय विन्दुकुमार थापाले आफ्नै वडाको क्याम्पसमा सभासद् र सल्लाकार भएकाले छिटोभन्दा छिटो मानित विश्वविद्यालय भएको हेर्न आतुर रहेको बताएका छन् । जनप्रिय बहुमुखी क्याम्पसको ३१ औं वार्षिकोत्सवमा थापाले विश्वविद्यालयका लागि आवश्यक जग्गा, भौतिक पूर्वाधार, भवन निर्माणका लागि आफू र प्रदेशसभा प्रतिवद्ध रहेको जनाए ।

उनले २ पटकसम्म मुलकभरिकै उत्कृष्ट सामुदायिक क्याम्पस र गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाएको जनप्रिय क्याम्पसको गुणस्तरमा शंका गर्ने ठाउँ नरहेको दाबी गरे । शैक्षिक गतिविधि अब्बल र उत्कृष्ट रहेकाले विद्यार्थीको बढ्दो आकषर्णलाई ध्यान दिई दक्ष जनशक्ति उत्पादनमा प्राविधिक र सीपमूलक शिक्षा दिन उनले आग्र्रह गरे ।

क्याम्पसका पूर्व अध्यक्ष तथा सल्लाहकार परशुराम बरालले क्याम्पसले देखेका सपना साकार बनाउन र रूपान्तरणका लागि पुराना चिज छोडेर नयाँ कार्यक्रम लागू गर्न नेतृत्व सक्षम हुनुपर्ने धारणा राखे । जनप्रिय बहुमुखी क्याम्पसलाई मानित विश्वविद्यालय बनाउन सरोकारवालाको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा उपप्राध्यापक देविलाल शर्मा तिमिल्सिनाले प्रस्तुति राखेका थिए भने प्राडा ईन्द्रप्रसाद तिवारीले टिप्पणी गरेका थिए ।

क्याम्पस प्रमुख लोकराज भण्डारीले जेएमीले शैक्षिक गुणस्तर कायम राख्न अनुसन्धान र प्रकाशनमा जोड दिने प्रतिवद्धता गरे । उनले ५ वर्षे रणनीतिक योजना अनुरुप मानित विश्वविद्यालय बनाउन लागेको उल्लेख गरे ।

पुस्तकालयलाई आधुनिक र प्रविधिमैत्री बनाउँदै ५० हजारभन्दा बढी विषयगत पुस्तक राखिएको क्याम्पसबाट उत्पादित ८ सय ८८ दक्ष जनशक्तिको ट्यासर स्टडी गरिएको छ । त्रिविबाट सम्बन्धन लिएर बिएस्सी सिएसआइटीका कार्यक्रम चलाउन दरखास्त बुझाएको भण्डारीले उल्लेख गरे । विश्वविद्यालय अनुदान आयोगबाट गुणमापन तथा प्रत्ययानको प्रमाणपत्र प्राप्त क्याम्पसले स्वयत्त कार्यक्रम अन्तर्गत स्नातक तह पर्वतीय पर्यटन व्यवस्थापन र एमबिए इन हस्पिटालिटी म्यानेजमेन्ट चलाइरहेको छ ।

क्याम्पस प्रमुख भण्डारीले गरिब तथा जेहन्दार, पिछडिएका क्षेत्रबाट आउने विद्यार्थीलाई १० प्रतिशत छात्रावृत्ति सुविधा छुट्याएको क्याम्पसले चालु आर्थिक वर्षका लागि २४ करोड ९६ लाख ४० हजार ५ सय ५५ रुपैयाँको अनुमानित बजेट तर्जुमा भएको जानकारी दिए ।

कार्यक्रममा पूर्व अध्यक्ष तथा सल्लाहकार दामोदर चालिसे, सिनेटर मात्रिकाराज घिमिरे, पूर्व क्याम्पस प्रमुख विरञ्जी गौतम, क्याम्पस सञ्चालक समिति उपाध्यक्ष वीरबहादुर अधिकारी, सदस्य नम्रता बराल, सहायक क्याम्पस प्रमुख रमेशबहादुर खड्का, शिलु चालिसे, सन्तोष अधिकारी, वेदहरि तिमिल्सिना, विद्यार्थी संघ, संगठनका प्रतिनिधि कमला परियार, सागर पौडेल, सागरप्रसाद शर्मा, निर्भिकविक्रम पौडेल लगायतले बोलेका थिए ।

क्याम्पस अध्यक्ष तारा गिरीले आफू र पत्नी ज्ञानुको नामबाट स्थापना गरेको ‘ज्ञानतारा अक्षय कोष’बाट उत्कृष्ट कार्यसम्पादन गरेका उपप्राध्यापक नारायणप्रसाद अधिकारी र कर्मचारी देवी पनेरुलाई नगद, कदरपत्र र दोसल्ला आढाएर सम्पान गरे । संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको स्मृतिमा स्थापित पुरस्कारबाट मंगलबहादुर गुरुङ सम्मानित भएका छन् । सृजना विकास केन्द्रले स्थापना गरेको ‘सृजना विकास केन्द्र उत्कृष्ट पुरस्कार’ केन्द्रका अध्यक्ष कृष्णबहादुर थापाले कक्षा १२ मा उत्कृष्ट अंक ल्याएकी छात्रा दावा साङ्मो शेर्पालाई हस्तान्तरण गरे ।

क्याम्पसमा विभिन्न संस्था तथा व्यक्तिद्वारा स्थापित अक्षयकोषबाट उत्कृष्ट शैक्षिक नजिता ल्याउने विद्यार्थीलाई छात्रावृत्तिको नगद रकम र प्रमाणपत्र हस्तान्तरण गरिएको छ । त्यस्तै अतिरिक्त क्रियाकलाप अन्तर्गत भलिबल, ब्याडमिन्टन, रस्साकसी, बास्केटबल, टेबुलटेनिस, नृत्य, हाजिरीजवाफ, कविता, निबन्ध, वक्तृत्वकला, बुद्धिचाल प्रतियोगिताका वितेजालाई प्रमाणपत्र, सिल्ड, मेडल, नगद पुरस्कार प्रदान गरिएको थियो ।
क्याम्पस सञ्चालक समिति अध्यक्ष तारा गिरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।