पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानी स्थानीय सरकारले नै घोषणा गर्ने बताएका छन् । यसअघि नै महानगरले पर्यटनको राजधानी घोषणा गर्न संघ सरकारलाई आग्रह गरिसकेको छ ।

यसमा गण्डकी प्रदेश सरकारले २ पटक पहल गर्दा पनि संघ सरकारको ध्यानाकर्षण भएको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुरोध गरे पनि अहिलेसम्म यो योजना थाँती छ । आचार्यले भने, ‘पोखरालाई केन्द्रमा राखेर हामी आफैं काम गर्छौं ।’ उनले पोखरा टुरिजम एन्ड हस्पिटालिटी मिट–२०२२ मा यस्तो बताएका हुन् ।

आचार्यले भने, ‘कसैले माने पनि, नमाने पनि पोखरा पर्यटनको राजधानी नै हो ।’ पर्यटन उद्योगका लागि चाहिने जनशक्ति जनप्रिय बहुमुखी क्याम्पसले उत्पादन गर्नु सराहनीय भएको उनले बताए । पोखरालाई मुक्ति क्षेत्रको प्रवेशद्वार बनाउने प्रतिवद्धता उनले जनाए ।

प्राडा रमेशराज कुँवरले ‘नेपालको पर्यटन हिजो, आज र भोलि विषयमा प्रस्तुति राखे । नेपालमै पहिलो पटक पर्वतीय पर्यटनको अध्ययन अध्यापन गराएको जनप्रिय क्याम्पस उदाहरणी भएको उनले बताए । कुवँरले स्वायत्त पाठ्यक्रम विकासका लागि आफूले पहल गरको जानकारी दिए । नेपालको पर्यटनमा महाभूकम्प र कोरोना कहरले धक्का लागे पनि दीगो पर्यटनका लागि शिक्षित र दक्ष जनशक्ति आवश्यक रहेको औंल्याउँदै भविष्यका कर्णधार पर्यटनका विद्यार्थी भएको तर्क गरे ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले ‘नेपाल र अन्तर्राष्ट्रिय क्षेत्रमा पोखराको पर्यटन प्रवद्र्धनका सम्भावना’लाई सार्थक बनाउने उपायबारे प्रस्तुति राखे । रेग्मीले वार्षिक ४ सय जनशक्ति पर्यटन क्षेत्रका लागि तयार भए पनि पर्यटन उद्योगमा दक्ष जनशक्तिको माग ख्टकिएको जनाए । पर्यटनका लागि बनाउनुभन्दा पनि नभत्कानु काफी हुने तर्क राखे । हिमालसँगै नयाँ प्रोडक्ट पनि सेल गर्नु आवश्यक रहेको रेग्मीको धारणा छ ।
नेपाल पर्वतारोहण संघ अध्यक्ष निमानोर्बु शेर्पाले ‘नेपालको पर्वतीय पर्यटन’ विषयमा प्रस्तुति राख्दै पर्यटन पढेका दक्ष जनशक्ति होटल, बार, रेस्टुरेन्टका लागि मात्रै नभई समग्र पर्यटन क्षेत्रलाई चाहिने हुँदा पर्वतीय पर्यटनको पढाइले योगदान दिने विश्वास गरे ।

गण्डकी प्रदेशमा पर्यटनका सम्भावना खोज्न र पर्यटनसँग सम्बन्धित संघ, संस्था र सोही विषयको उच्च अध्ययन गरेका जनशक्तिलाई एकै ठाउँमा राखेर मिटको आयोजना गरिएको हो । स्नातक र स्नातकोत्तरमा पर्यटन र आतिथ्यता अध्ययन गरिरहेका विद्यार्थी, विज्ञ र रोजगारदाताबीच छलफल गरी समस्या र सम्भावनाको खोजी गरिएको थियो ।

गण्डकी प्रदेशमा पर्यटन र अतिथ्यता शिक्षाको अहिलेको अवस्था र सम्भावनाबारे प्यानल छलफलमा पर्यटन शिक्षण गर्दै आएका डा रामजी शर्मा, नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख काशीराज भण्डारी, बाराही गु्रपका निर्देशक वैभव पौडेल, पोखरा ग्रान्डका महाप्रबन्धक पञ्चलम लामा सहभागी भए । यसको सहजीकरण दीपेन्द्र पहारीले गरेका थिए । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, डा. ध्रुवराज पोखरेल लगायतले टिप्पणी गरेका थिए ।

एमबिए इन हस्पिटालिटी र बिएमटिमको पाठ्यक्रमका बारेमा नेत्रप्रसाद सुवेदी र मेखराज पौडेलले जानकारी थिए । अध्ययन सकेका प्रेम गिरी र विष्णुहरि तिमिल्सिनाले आफ्ना ४ वर्षे अध्ययनको अनुभव सुनाउ । बिएमटिमका विद्यार्थीले साँस्कृतिक प्रस्तुति राखेको कार्यक्रममा ‘जर्नल अफ टुरिजम एन्ड एडभेन्चर’ को पाँचौं अंक लोकार्पण भयो ।

जनप्रिय बहुमुखी क्याम्पसको आयोजना र पोखरा पर्यटन परिषद्को सहआयोजनामा सम्पन्न कार्यक्रमलाई पोखरा महानगरपालिका, नेपाल पर्वतारोहण संघ, नेपाल पर्यटन बोर्ड, होटल एसोसिएसन पोखरा र पर्यटन मन्त्रालय गण्डकी प्रदेशले सघाएका थिए । कार्यक्रममा पोखरा र गण्डकी प्रदेशका १२ कक्षा सकेका विद्यार्थी, विद्यालय, क्याम्पस सञ्चालक र विज्ञ गरी ३ सय ७७ को सहभागिता रहेको क्याम्पस प्रमुख भण्डारीले जानकारी दिए ।

क्याम्पस व्यवस्थापन समिति अध्यक्ष तारा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य ध्रुवराज चालिसे र डा. भावना पोखरेलले पनि बोलेका थिए ।